बारा । बाराको निजगढ नगरपालिका ७ स्थित जनज्योति पार्क नजिकै रहेको करिब ६ लाख रुपैयाँ मूल्य बराबरको विद्युत् ट्रान्सफर्मर चोरी भएपछि स्थानीय बासिन्दा र सरोकारवाला निकायहरू चिन्तित बनेका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले डीप बोरिङ सञ्चालनका लागि जडान गरेको १०० केभी क्षमताको ट्रान्सफर्मर फुटाइ भित्री भाग निकालिएको अवस्थामा फेला परेको हो ।
उक्त डीप बोरिङ विगत छ महिनादेखि सञ्चालनमा रहेको थियो र करिब पाँच सय घरधुरीलाई दैनिक खानेपानी वितरण हुँदै आएको थियो । नियमित रूपमा सञ्चालनमा रहेको बोरिङको ट्रान्सफर्मर बिहिबार बेलुका सम्म सामान्य अवस्थामा रहेको बताइन्छ । तर, शुक्रबार बिहान पुनः सञ्चालन गर्न जाँदा सिमेन्ट पोलबाट झारिएको र फुटाइएको अवस्थामा ट्रान्सफर्मर फेला परेको थियो । बाहिरी खोल मात्र बाँकी राखी भित्री भाग चोरी गरिएको थियो ।
स्थानीयस्तरमा चालू अवस्थामा रहेको ट्रान्सफर्मर चोरी भएको यो पहिलो घटना भएको बताइन्छ । घटनास्थल बस्तीबाट केही टाढा तथा राजमार्गबाट करिब पाँच सय मिटर पर रहेकाले सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र मानिएको छ । यसले स्थानीय पूर्वाधारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।
ट्रान्सफर्मर चोरी भएसँगै चैतदेखि साउनसम्मको अवधिमा पानी आपूर्तिमा समस्या आउने संकेत देखिएको छ । गर्मीयाम नजिकिँदै गर्दा खानेपानी वितरण अवरुद्ध हुन सक्ने सम्भावनाले उपभोक्ताहरू थप चिन्तित भएका छन् ।
विद्युत् आपूर्ति प्रणालीको रेकर्ड अनुसार चोरी भएको दिन साँझ करिब ६ बजेर १० मिनेटतिर मेन फिडरमा एक्कासि विद्युत् आपूर्ति बन्द भएको थियो । फिडर नम्बर २ र ३ मा केही समय मात्र अवरोध भएपनि फिडर नम्बर १ मा करिब १० मिनेटसम्म आपूर्ति बन्द भएको विवरण छ । चोरीको घटना सोही समय आसपासमा भएको हुन सक्ने अनुमान गरिएको छ ।
चोरी भएको ट्रान्सफर्मर १०० केभी क्षमताको रहेको र त्यसमा सवा सय किलोग्रामसम्म तामा रहेको जनाइएको छ । उक्त परिमाणको तामाको बजार मूल्य करिब अढाई लाखदेखि साढे तीन लाख रुपैयाँसम्म पर्न सक्ने आँकलन गरिएको छ । तामाकै लोभमा ट्रान्सफर्मर फुटाइ चोरी गरिएको हुन सक्ने आशंका गरिएको छ ।
यसैबीच, नगर क्षेत्रमा जडान गरिएका २० वटा सिसिटिभी क्यामेरामध्ये चारवटा मात्र सञ्चालनमा रहेको जानकारी सार्वजनिक भएपछि सुरक्षा व्यवस्था प्रति थप प्रश्न उठेको छ । मरम्मत अभावका कारण अधिकांश क्यामेरा निष्क्रिय अवस्थामा रहेको बताइन्छ ।
घटनापछि खानेपानी संस्थाले संलग्न व्यक्तिहरूको खोजी गरी कानुनी कारबाही गर्न प्रहरीसमक्ष लिखित माग गरेको छ । निर्वाचन नजिकिँदै गरेको समयमा सार्वजनिक पूर्वाधारमाथि भएको यस्तो आपराधिक गतिविधिले स्थानीय प्रशासन र सुरक्षा निकायका लागि थप चुनौती सिर्जना गरेको देखिन्छ ।




