वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं २४ रामगढवा स्थिति एक उद्योगमा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । पर्सागढी नगरपालिका ५ हर्दियाका अन्दाजी २६/२७ वर्षीय विरेन्द्र पण्डितको मृत्यु भएको हो ।
महेश शर्माले सञ्चालन गरेको एक्स पिएम उद्योगमा साँझ मेसिनले च्यापिएर उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटना बारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार काम गर्ने क्रममा मजदुरको मृत्यु भयो भन्ने जानकारी आएको छ । अनुसन्धानका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट टोली खटिएको छ ।
पर्सागढीका मजदुरको मृत्यु भएपछि आफन्त र गाउँले आइतबार साँझ उद्योगमा पुगेका थिए । उनीहरुले घटना शंकास्पद भएको भन्दै उद्योगका सञ्चालक आएपछि मात्रै अन्य कानुनी प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन् ।
आफन्त र गाउँलेहरुले दुर्घटना कसरी भयो भनेर चासो राखेको छन् । अनुसन्धानपछि घटना बारे सत्यतथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ ।




