रौतहट । रौतहटको राजपुर नगरपालिका ५ पानीटंकीदेखि अकोलवा जाने भित्री पक्की सडकको बीचभागमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ ।
गएराति करिब १:३० बजे फलामको ड्रमभित्र पहेंलो प्लास्टिकको बोरामा राखिएको शंकास्पद सामाग्री देखिएपछि संयुक्त सुरक्षा टोलीले तत्काल क्षेत्र नियन्त्रणमा लिएको थियो । आज बिहान करिब १० बजे नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर उक्त वस्तु निष्क्रिय पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निष्क्रिय पारिसकेपछि गरिएको परीक्षणमा बोराभित्र कुनै विस्फोटक पदार्थ नभई माटो मात्र रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् डीएसपी विष्णुप्रदीप बस्यालले जिल्ला सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त वस्तु ‘होक्स’ (त्रास फैलाउने उद्देश्यले राखिएको नक्कली सामाग्री) भएको जानकारी दिए ।
निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता बढाइएको अवस्थामा यस्ता घटनाले अनावश्यक त्रास फैलाउन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सर्वसाधारणलाई अफवाहमा नअल्झिन आग्रह गरेका छन् ।
यसैबीच, नरायणदल गणले प्रत्येक निर्वाचन क्षेत्रमा एक एक बम डिस्पोजल टोली तैनाथ गरेको जनाएको छ । साथै राजमार्ग सुरक्षाका लागि छुट्टै टोली तयारी अवस्थामा राखिएको प्रजिअ भुसालले बताए ।
शंकास्पद वस्तुको सूचना प्राप्त भएको १० देखि ३० मिनेटभित्र घटनास्थल पुग्न सक्ने क्षमता नेपाली सेनासँग रहेको उनले स्पष्ट पारे । जिल्लाको कुनै पनि स्थानमा शंकास्पद वस्तु देखिएमा तत्काल नजिकको प्रहरी वा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ ।




