पश्चिम नवलपरासी । प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएको घरदैलो अभियानको आज अन्तिम दिन पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डे टोल टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय देखिए ।
औपचारिक प्रचार प्रसारको समय समाप्त हुनै लाग्दा उनले कार्यकर्ता तथा समर्थकसहित व्यापक रूपमा घरदैलो अभियानलाई तीव्र बनाएका थिए । घरदैलो अभियानका क्रममा उम्मेदवार पाण्डेले मतदाताको घर घरमा पुगेर आफू र पार्टीलाई मतदान गर्न आग्रह गर्नुका साथै स्थानीयका गुनाशा, सुझाव र अपेक्षा सुनेका थिए ।
उनले क्षेत्रको समग्र विकास, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आफ्नो स्पष्ट प्रतिबद्धता रहेको बताए । भेटघाटका क्रममा पाण्डेले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासका समस्या समाधानमा पहल गर्ने, युवामैत्री तथा परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
नवलपरासीको विकासका लागि स्पष्ट योजना र इमानदार प्रतिबद्धतासहित आफू परिवर्तनको संवाहकका रूपमा अघि बढेको उनको भनाइ छ ।
निर्वाचन आचारसंहिता अनुसार आज राति १२ बजेपछि निर्वाचन प्रचार प्रसारसँग सम्बन्धित कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला तथा गोष्ठी गर्न पाइँदैन । मध्यरातिपछि सबै प्रचारात्मक गतिविधि पूर्ण रूपमा निषेध हुनेछन् ।






