सप्तरी । सप्तरीको बलानबिहुल गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा २ स्थित दिगियाबाट आइतबार राति विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले किशुन देव यादवको निर्माणाधीन तीन तले पक्की घरबाट ५८ किलो लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट घर धनी ४५ वर्षीय किशुन देव यादव र घरको दोस्रो तल्लामा सुतिरहेका ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीको कमाण्डमा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि धनुषाबाट खटिएका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले यादवको निर्माणाधीन तीन तले पक्की घरमा खान तलासी गरेको थियो ।
सो क्रममा घरको तल्लो तलाबाट सेतो प्लास्टिकका तीन बोरा भित्र राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका दुवै व्यक्ति, बरामद गाँजा तथा घटना सम्बन्धी सामाग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।






