रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. ४ मा चाँदी नदीमाथि निर्माणाधीन पुल चुनावी बहसको केन्द्रमा परेको छ । पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता सबै उम्मेदवारले सार्वजनिक गरेपछि मतदाता कसलाई रोज्ने भन्ने विषयमा अन्योलमा परेका छन् ।
चन्द्रपुर नगरपालिका ४ टेकान र वडा नं. ३ गैडाटार जोड्ने उक्त पुलको निर्माण कार्य २०७४ असार ३१ गते सुरु भएको थियो । सात वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीय वासीले सास्ती खेप्दै आएका छन् ।
मतदाताले पुल सञ्चालनलाई प्राथमिकता दिने उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेपछि सबै दलका उम्मेदवारले यसलाई आफ्नो मुख्य एजेन्डा बनाएका हुन् । चुरे पर्वतको फेदीमा अवस्थित गैडाटार बस्ती क्षेत्र नं. ४ को दुर्गम क्षेत्र मानिन्छ ।
स्थानीय तह गठनपछि सडक सञ्जाल विस्तार भएपनि पुल अभावमा आवतजावत, शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य सामाग्री ढुवानीमा समस्या कायम छ । यस क्षेत्रमा नयाँ र पुराना उम्मेदवार बीच प्रतिस्पर्धा चर्किएको छ ।
नेपाली कांग्रेसका देवीप्रसाद तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाल कम्युनिष्ट पार्टीका रामकुमार भट्टराई, नेकपा (एमाले) का रामजी साह, जनता समाजवादी पार्टीका राजकुमार दास र आम जनता पार्टीका ऋषि धमलाले आ-आफ्ना घोषणापत्रमार्फत पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा निर्वाचित नेपाली कांग्रेसका नेता तिमल्सिनाले राजनीतिक अस्थिरताका कारण योजना ओझेलमा परेको उल्लेख गर्दै पुन: निर्वाचित भए पुल निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार भट्टराईले अघिल्लो कार्यकालमा योजनाले निरन्तरता नपाएको आरोप लगाउँदै पुल निर्माण सम्पन्न गर्नु नै आफ्नो प्रमुख एजेन्डा भएको दाबी गरेका छन् । अन्य उम्मेदवारले पनि पुल निर्माणलाई विकासको आधार मानेर प्रतिवद्धता व्यक्त गरेका छन् ।
दलका स्थायी समर्थक मतदाताले आफ्नो राजनीतिक आस्था अनुसार निर्णय गरेपनि स्वतन्त्र मतदाता भने कसलाई मत दिने भन्ने विषयमा दुविधामा रहेको स्थानीय स्रोतको भनाइ छ । चुनावी प्रतिस्पर्धामा चाँदी नदीको पुल निर्णायक मुद्दा बन्ने देखिएको छ ।




