महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ५ स्थित गौशाला बजार सोमबार साँझ बालबालिका खेलिरहेका बेला ‘बच्चा चोरी’को हल्ला फैलिएपछि तनावग्रस्त बनेको छ । भीड नियन्त्रणका लागि सुरक्षाकर्मीले १७ राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको छ ।
स्थानीयका अनुसार बच्चा चोरीको आरोप लगाउँदै ठूलो संख्यामा जम्मा भएको भीडले सोही वडामा रहेको समिर गेस्ट हाउस घेराउ गर्दै आगजनीको प्रयास गरेको थियो । साँझ करिब साढे ७ बजेतिर अवस्था उग्र बन्दै गएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गर्दा सशस्त्र प्रहरीतर्फका दुई जना जवान घाइते भएका छन् । बर्दीबासस्थित सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालयका डिआइजी कृष्ण ढकालका अनुसार स्थिति नियन्त्रणबाहिर जान नदिन १७ सेल अश्रुग्यास प्रहार गरिएको थियो ।
संयुक्त सुरक्षा टोलीको सक्रियतामा बर्दिबास र रामगोपालपुर नगरपालिकाबाट पुगेको वारुणयन्त्रले गेस्ट हाउसमा लागेको आगो नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको छ । सुरक्षा अवस्था कडा पारिएको र बजार क्षेत्र अहिले नियन्त्रणमा रहेको सुरक्षा स्रोतले जनाएको छ ।
बच्चा चोरीको आरोप लागेकी एक भारतीय महिलालाई सुरक्षाकर्मीले भीडबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी लगेको मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




