रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ५ राजपेडामा सोमबार फेला परेको शंकास्पद वस्तु माटो भरिएको बोरा रहेको खुलेको छ । आज बिहान सडक छेउमा शंकास्पद वस्तु देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षित बनाएको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
नेपाली सेना अन्तर्गत नारायण दल गणबाट खटिएको टोलीले उक्त वस्तुको जाँच गर्दा त्यो माटो भरिएको बोरा मात्र रहेको पुष्टि भएको हो । सेनाले सावधानी अपनाउँदै उक्त बोरा डिस्पोज गरेको जनाएको छ ।
यसअघि सोमबार नै रौतहटको राजपुर नगरपालिका ६ मा पनि शंकास्पद वस्तु फेला परेको थियो, जसलाई सेनाले निष्क्रिय पारेको थियो । हाल जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।




