सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका एक उम्मेदवार सिराहाबाट नगदसहित पक्राउ परेका छन् । सिराहा क्षेत्र नम्बर ३ का जसपाका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका हुन् ।
यादव गएराति नगदसहित पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापाले जानकारी दिए । मौन अवधिका बेला यादव नगदसहित पक्राउ परेका हुन् ।
उनी सिराहा सदरमुकाम नजिकबाट गएराति साढे १२ बजे प्र २–०२–००१ च ०८७ नम्बरको स्कार्पिओ गाडीसहित पक्राउ परेका थापाले जानकारी दिए । उनको गाडीमा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेको छ ।
सो रकम बरामद गरेर यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका अन्यको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




