सर्लाही । सर्लाहीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार सर्लाही १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नीतिमा भण्डारी ७,१९० मतसहित अग्रस्थानमा रहेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज कुमार देवकोटाले १,६७४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले ९८८ मत पाएका छन् । जनमत पार्टीका श्रीञ्जय महतोको मत विवरण आउन बाँकी छ ।
यस्तै सर्लाही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन महतो ६,९९० मतसहित अग्रतामा छन् । उनलाई नेकपाका महेन्द्र राय यादवले २,४२९ मतसहित पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका डा. सरोज कुमारले ६७७ र नेकपा एमालेका नागेश्वर शाहले ३३८ मत प्राप्त गरेका छन् ।
यस्तै सर्लाही ३ मा नेपाल कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ ७२० मतसहित अगाडि छन् भने नेपाली कांग्रेसका विनोद कुमार खनालले ५४० र नेकपा एमालेका हरिप्रसाद उप्रेतीले ३३६ मत पाएका छन् । जसपा नेपालका जयप्रकाश रायको मत विवरण आउन बाँकी छ ।
त्यसैगरी सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह २,८४७ मतसहित अग्रतामा छन् । नेपाली कांग्रेसका गगन कुमार थापाले १,७१४ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राकेश कुमार मिश्रले ५११ र नेकपा एमालेका अमनिश कुमार यादवले ४१० मत पाएका छन् ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




