काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पाँचवटा सवारी साधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका २ घिउखोला नजिक गएराति भारतीय नम्बर प्लेटको कन्टेनरले जथाभाबी ‘ओभरटेक’ गर्दा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार सुनौलीबाट पूर्वतर्फ आइरहेको कन्टेनरले एकतर्फी सडकमा ओभरटेक गर्ने क्रममा अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कालिकोटका ३० वर्षीय अमर कार्की र पछाडि सवार २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन् । त्यसैगरी, ठक्करबाट यात्रीवाहक बसमा सवार अन्य ६ जना पनि घाइते भएका छन् ।
घाइते हुनेहरूमा बस चालक शङ्कर विष्ट (रोल्पा), विनोदकुमार अछामी (रामेछाप), उदीराम विष्ट (रोल्पा), नाम्नुहाङ राई (धरान), दर्शन पोख्रेल (रोल्पा), चन्द्रसिंह थापा (सुनसरी) र ६० वर्षीय यज्ञप्रसाद भुसाल (प्युठान) रहेका छन् ।
प्रहरीका अनुसार घाइते सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । दुर्घटना गराउने कन्टेनरका चालक भने घटनास्थलबाट फरार भएका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्गलाई सुचारु गराउन प्रहरीले प्रयास गरिरहेको छ ।






