रौतहट । रौतहटका ग्रामीण भेगमा पछिल्लो समय निलगाई (घोर गदहा) को आतंक बढ्दै गएको छ । निलगाईका झुण्डले खेतबारीमा पसेर गहुँ, मकै, केरा, सखरकण्ड, धनिया र विभिन्न तरकारी बाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् ।
किसानहरुका अनुसार रातको समयमा निलगाई खेतमा पसेर एकै रातमा वर्षभरी मेहनत गरेर रोपिएको बाली सखाप पार्ने गरेको छ । वर्षभरी लगाइएको मेहनतको बाली नष्ट भएपछि किसानहरू ठूलो आर्थिक र मानसिक तनावमा परेको स्थानीय बताउँछन् ।
किसानहरूले बाली जोगाउन रातभर खेतमा बस्ने, आवाज निकाल्ने र विभिन्न उपाय अपनाउने प्रयास गरिरहेका छन्, तर निलगाईको झुण्ड नियन्त्रण गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ । विशेष गरी बागमती नदी र लाल बकैया नदीको बगर छेउछाउका किसानहरू निलगाईको आतंकबाट बढी प्रभावित छन् ।
यस्तै, निलगाई ग्रामीण सडकहरूमा समेत देखिन थालेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ । राति र बिहान सबेरै सवारी साधन चलाउँदा अनावश्यक जोखिम हुने सम्भावना प्रबल रहेको छ ।
हुलाकी सडक, गौर–पिपरा हुँदै समनपुर जाने सडक, कटहरिया लगायतका ग्रामीण सडकमा सवारी चलाउनेहरूले विशेष सावधानी अपनाउनु पर्ने स्थानीयवासी र सवारी चालकहरू बताउँछन् ।




