सर्लाही । सर्लाहीको सीमावर्ती सखुअवा क्षेत्रमा ठूलो परिमाणमा कवाड सामाग्री र अन्य सामान भारततर्फ तस्करी भइरहेको तथ्य बाहिर आएको छ । स्थानीय स्रोतका अनुसार फलाम, ब्याट्री लगायतका विभिन्न कवाडका सामाग्री नियमित रूपमा सीमाभन्दा पार गरेर भारत पठाइँदै आएको पाइएको छ ।
सखुअवा क्षेत्रमा अवैध कारोबारलाई सहज बनाउने क्रममा सुरक्षा निकायसँग पनि मिलेमतो रहेको स्थानीयहरूले दाबी गरेका छन् । सीमावर्ती प्रहरी चौकी तथा बिओपी क्षेत्रको संरक्षणमा तस्करी जारी रहँदा व्यापार अवरुद्ध गर्न चुनौती देखिएको छ ।
स्रोतका अनुसार सखुअवा, सग्रामपुर र त्रिभुवननगर आसपासका अन्य नाकाबाट पनि राजस्व छलीका सामानको ओसारपसार तीव्र गतिमा भइरहेको छ । नेपालबाट अखरोट, स्याउ र फर्सीको बीउ भारत पठाइँदै आएको छ भने भारतबाट कपडा, दैनिक उपभोग्य वस्तु तथा सवारी साधनका स्पेयर पार्ट्स नेपाल भित्राइरहेको पाइन्छ ।
पछिल्लो समय सार्वजनिक भएको अडियो संवादले पनि तस्करीका गतिविधिमा सुरक्षा कर्मीसँगको सम्बन्ध उजागर गरेको छ । अडियोमा सीमावर्ती क्षेत्रमा सहज रूपमा तस्करी गर्न दिइएको विषयमा छलफल भएको देखिन्छ ।
स्रोतहरूका अनुसार, सीमावर्ती क्षेत्रमा यस्ता अबैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकाय पूर्ण इमान्दार नहुँदा चुनौतीपूर्ण छ । स्थानीय व्यवसायी र किसानलाई ठूलो क्षति पुर्याउने यस प्रकारको तस्करी रोक्न कडा निगरानी र प्रभावकारी नियन्त्रण आवश्यक रहेको छ ।
हालसम्म सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक प्रतिक्रिया आएको छैन, तर स्थानीयवासीले सखुअवा क्षेत्रमा बढ्दो तस्करी र अवैध कारोबार नियन्त्रणका लागि तत्काल कदम चालिनुपर्नेमा जोड दिएका छन् ।




