महोत्तरी । महोत्तरीमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका ६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको हो ।
स्थानीयवासीले शंकास्पद रूपमा जमिनमा गाडिएको मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरी टोलीले खाल्डोबाट मोटरसाइकल निकालेर नियन्त्रणमा लिएको हो ।
फेला परेको मोटरसाइकल नेपाली नम्बर ज ८ प ९९७ को सुपर स्प्लेन्डर रहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल हाल प्रहरी चौकी मगरथानामा राखिएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल कसले र किन जमिनमा गाडेर लुकाएको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ । मोटरसाइकलको वास्तविक मालिक तथा घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।




