काठमाडौं । बारा, पर्सा र आसपासका जिल्लामा पछिल्लो केही दिनयता पेट्रोल पम्पमा अस्वाभाविक भिड देखिएको छ । यसमा मुख्य कारण विदेशमा जारी युद्ध सम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएका अफवाह हुन् ।
स्थानीयहरू बीच फैलिएको डरले गर्दा सवारी साधनमा ‘फुल ट्याङ्की’ इन्धन भर्ने होडबाजी देखिएको छ । विशेष गरी मोटरसाइकल चालकहरू लामबद्ध भएर पेट्रोल पम्पमा उभिने र इन्धन भर्ने दृश्य सर्वत्र देखिन थालेको छ ।
मोबाइल सन्देश र सामाजिक सञ्जालमा इरान, इराक, इजरायल र अमेरिकाबीचको द्वन्द्वका कारण नेपालमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन सक्ने हल्ला फैलाइएको थियो ।
उपभोक्ताहरू डर र सतर्कताबाट समयमै इन्धन भण्डारण गर्न पम्प पुगेका छन् । तर, नेपाल आयल निगम लिमिटेडको प्रादेशिक कार्यालय वीरगन्जले भने पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ ।
निगमका प्रादेशिक कार्यालयका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका १११ पेट्रोल पम्पमार्फत दैनिक करिब ८०–९० किलो लिटर पेट्रोल र १८०–२०० किलो लिटर डिजेल बिक्री भइरहेको छ ।
हाल तीन चार दिनयता माग सामान्य अवस्थाको तुलनामा करिब दोब्बर बढेको देखिएको छ । तर, निगमले आपूर्ति पर्याप्त रहेको र उपभोक्ताले अनावश्यक डराउनु नपर्ने स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा फैलिएका अफवाह, निर्वाचनको समय र लगातार सार्वजनिक बिदाका कारण माग बढेको भएपनि भण्डारण र आपूर्ति पर्याप्त रहेको जनाएको छ ।
विशेषज्ञहरूको भनाइ अनुसार, यस्ता अफवाह र डरले असावधानीपूर्ण जमघट र अस्वाभाविक खरिद बढाउन सक्छ । त्यसैले उपभोक्ताले आवश्यक मात्रामा मात्र इन्धन खरिद गर्न, अफवाहमा नलाग्न र आधिकारिक सूचना अनुसार मात्र कार्य गर्न सुझाइएको छ ।




