पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ५ बाट प्रहरीले माटोमा गाडिएको एक थान पेस्तोल बरामद गरेको छ । प्रतापपुर ५ छोटकी बैदौली निवासी २८ वर्षीय सराजोद्दिन अन्सारीको खेतमा पेस्तोल बरामद भएको हो ।
बाँसको जरा खन्ने क्रममा पुरानो खिया लागेको नलकटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी बिरदत्त पन्तले जानकारी दिए । पेस्तोल फेला परेपछि इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहीयाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
जमिनमुनि गाडिएको अवस्थामा भेटिएको उक्त पेस्तोलको मुचुल्का तयार पारेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सिमावर्ती क्षेत्रमा यसरी हतियार भेटिएपछि अवैध हतियारको अवस्था बारे स्थानीयमा चिन्ता र चासो समेत बढेको छ ।






