धनुषा । धनुषा १ मा रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ले दिएको रिटमा सर्वोच्च अदालतले नाम कालोसूची नराख्न आदेश दिएको छ । बिहिबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
उनले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाएर बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । आफूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आफ्नो उम्मेदवारी खारेज भएको भन्दै उनी सर्वोच्च पुगेका थिए ।
उनले यसअघि निर्वाचन आयोगविरूद्ध फागुन १९ गते अर्कै रिट दायर गरेका थिए । यस विषयमा अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा शुक्रबारका लागि छलफलमा बोलाएको थियो । तर उम्मेदवार किशोरीले अर्को रिटमार्फत कालोसूचीबाट हटाउन माग गरी सर्वोच्च पुगेका हुन् ।
कालोसूचीबाट हटाउन अन्तरिम आदेश जारी भएसँगै अब उनको उम्मेदवारी के हुन्छ भन्ने यकिन भएको छैन । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यस रिट आदेश बारे आफूहरूलाई जानकारी नभएको बताए ।
‘आजको आदेश हाम्रा विरूद्ध होइन । आयोगको निर्णयविरूद्ध उहाँले दिएको रिटमा भोलि दुबै पक्षको सुनुवाइ छ । त्यही सुनुवाइमा जे आदेश हुन्छ त्यसपछि निर्णय हुन्छ,’ उनले भने ।
धनुषा १ मा निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवलाई विजयी घोषणा गरेको छ । तर यस ठाउँमा उनकोभन्दा उम्मेदवारी खारेज भइसकेका किशोरीको पक्षमा धेरै मत आएको थियो । तर निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्दा उनको मत गणना गरेपनि सार्वजनिक गरेको छैन ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो । उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो ।
बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।




