रौतहट । रौतहटको गौर नगरपालिका क्षेत्रमा खाना पकाउने एलपी ग्याँसको अभाव देखिएको छ । केहि दिनयता ग्याँस नपाउँदा स्थानीय उपभोक्ताहरू समस्यामा परेका छन् । ग्याँस अभावका कारण घरायसी कामकाज तथा दैनिक खाना पकाउन समेत कठिनाइ भएको केहि उपभोक्ताहरूले बताएका छन् ।
ग्याँस विक्रेताहरूका अनुसार बजारमा ग्याँसको हाहाकार हुनुको मुख्य कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चय गरेकाले हो । एशियाको मध्यपूर्वमा सुरु भएको विवादका कारण खाना पकाउने ग्याँससमेतको अभाव, मूल्यवृद्धि हुने कुराले मानिसहरूले खाना पकाउने ग्याँसको सञ्चय गर्न सुरु गरेका हुन् ।
आवश्यकता अनुरूप ग्याँसको दैनिक खपतमा समस्या नभएको तर सञ्चयका कारण समस्या उत्पन्न भएको विक्रेताहरूले बताएका छन् । सबै कम्पनीले दैनिक उपभोग अनुसार ग्याँस उपलब्ध गराउँदै आएका र विक्रेताहरूले पनि सोही अनुसार बिक्री गर्दै आएकामा पछिल्ला समयमा यसको माग बढेको र आवश्यकताभन्दा बढी सञ्चय गर्ने गर्दा समस्या देखिएको एक विक्रेताले बताए ।




