वीरगञ्ज । वीरगञ्ज महानगरपालिका ३२ टेढानजीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बागमती प्रदेश ०३–०४ प २२० नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा र मधेस प्रदेश ०३–०३६ प ७९१८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बागमती प्रदेशको मोटरसाइकलमा सवार शिवजी चौधरी, उनकी पत्नी ऐश्वर्या चौधरी र चार वर्षका छोरा हर्ष चौधरी घाइते भएका छन् । चौधरी दम्पतीको टाउको, हात र नाकमा चोट लागेको छ भने चार वर्षीय हर्ष चौधरीको अवस्था चिन्ताजनक रहेको छ । हर्षको टाउकोमा गम्भीर चोट लाग्नुका साथै नाक पनि काटिएको बताइएको छ ।
यसैगरी, मधेस प्रदेशको मोटरसाइकल चलाइरहेका राजवीर चौधरी र सञ्जय यादव पनि घाइते भएका छन् । प्रहरीले उनीहरू दुवैले मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाइरहेको जनाएको छ । दुवै जनाको हात र खुट्टामा चोट लागेको छ । घाइते पाँचै जनालाई उपचारका लागि वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको छ ।




