वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले खाना पकाउने ग्याँस, डिजेल र पेट्रोलको अभाव नरहेको भन्दै अनावश्यक रूपमा जम्माखोरी नगर्न र कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिप्रका पर्साका प्रशासकीय अधिकृत सन्तोष रायले जारी गरेको सूचनामा नेपाल आयल निगम तथा ग्याँस विक्रेता सङ्घ र उद्योगहरूले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा ग्याँस, डिजेल र पेट्रोलको आपूर्ति नियमित रूपमा भइरहेकाले हाल कुनै अभाव नरहेको र भविष्यमा पनि अभाव हुने सम्भावना नदेखिएको उल्लेख गरिएको छ ।
प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले पेट्रोलियम पदार्थ वा ग्याँसको जम्माखोरी नगर्न सबैलाई आग्रह गरेको छ । साथै डिजेल र पेट्रोल खुला रूपमा बोतल, ग्यालेन वा ड्रममा बिक्री नगर्न समेत सम्बन्धित व्यवसायीहरूलाई निर्देशन दिएको छ ।
यसैबीच उपभोक्ता हित संरक्षण मञ्च पर्साले पनि विज्ञप्ति जारी गर्दै केही समययता वीरगञ्ज र पर्सा जिल्लामा ग्याँसको अभाव हुने तथा मूल्य बढ्ने भन्ने हल्ला फैलिँदा उपभोक्ताहरू त्रसित भई अनावश्यक रूपमा ग्याँस सिलिन्डर किनेर सङ्कलन गर्न थालेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चका अनुसार सम्बन्धित निकायहरूसँगको छलफल तथा उपलब्ध तथ्याङ्क अध्ययन गर्दा विगतको तुलनामा ग्याँस आपूर्ति अझै बढेको देखिएको छ । त्यसैले बजारमा देखिएको असहजता वास्तविक अभावका कारण नभई हल्ला र अनावश्यक सङ्कलनका कारण हुन सक्ने मञ्चको निष्कर्ष छ ।
मञ्चले ग्याँस उद्योग, डिलर वा साना विक्रेतामध्ये कसैले बढी मूल्य लिएर ग्याँस बिक्री वितरण गरेको पाइएमा कडा कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ । साथै उपभोक्ताहरूलाई पनि सचेत रहँदै बढी मूल्य तिरेर ग्याँस खरिद नगर्न र त्यस्तो गतिविधि देखिएमा प्रशासनमा उजुरी गर्न अनुरोध गरिएको छ ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्याँसको अभाव हुनसक्ने भन्दै राजधानी काठमाडौंमा पछिल्लो दुई सातादेखि विभिन्न हल्ला फैलिँदा उपभोक्तामा त्रासको वातावरण सिर्जना भएको थियो ।
त्यसको असर केही दिनयता वीरगञ्ज लगायत पर्सा जिल्लामा पनि देखिन थालेपछि पेट्रोलियम पदार्थको अनावश्यक सञ्चिति बढेको बताइएको छ । यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त रूपमा सूचनामार्फत उपभोक्ताहरूलाई सचेत गराएका हुन् ।




