रौतहट । रौतहटको वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका ६ वटा घर टहरा भत्काइएको छ । चन्द्रपुर नगरपालिका ६ बेल्डीस्थित वन क्षेत्रमा निर्माण भएका यी अवैध घर टहरा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहको नेतृत्वमा भत्काइएको हो ।
यस कार्यमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय र रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले सहभागिता जनाएको छ ।
प्रमुख साहका अनुसार, गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका थिए । त्यही अवसरमा केही स्थानीयले रातारात वन क्षेत्रमा घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेका थिए ।
डिभिजन प्रमुख साहले कुनै पनि बहानामा वन अतिक्रमणलाई छुट नदिइने स्पष्ट पारेका छन् । उनले सर्वसाधारणलाई वन क्षेत्रको संरक्षणका लागि अवैध घर निर्माण नगर्न र वन अतिक्रमण नगर्न विशेष आग्रह गरेका छन् ।




