काठमाडौं । कपिलवस्तुमा छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति तौलिहवा–बहादुरगन्ज सडकखण्ड अन्तर्गत महाराजगंज नगरपालिका ३ गनबरियामा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा चालक कृष्णनगर नगरपालिका १ बढैयाका २५ वर्षीय विनय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा उनको मृत्यु भएको हो । घाइते २८ वर्षीया पुष्पा चौधरीको मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यस्तै, यशोधरा गाउँपालिकाको बसन्तपुर–पुन्हिवा सडकखण्डमा लु २४ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा यशोधरा गाउँपालिका १ का ४२ वर्षीय रमकुमार चौधरीको मृत्यु भएको छ । घाइते चौधरीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
यसैगरी, तौलिहवा–गोरुसिंगे सडक खण्डमा लु ९७ प ०९४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार यशोधरा ४ का ६५ वर्षीय गोमतीप्रसाद यादवको मृत्यु भएको हो ।






