सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले १० किलो गाँजासहित २१ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरबाट खटिएको टोलीले गएको बिहिबार राति करिब ११ बजे बा ४७ प ८६६४ नम्बरको मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका ११ बाहुनी टोलका २१ वर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
१० किलोभन्दा बढी गाँजाको तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले पत्थरकोटदेखि जियाजोर जाने सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डीएसपी सरोज राईले जानकारी दिए ।
पक्राउ परेका तामाङविरुद्ध लागुऔषध (गाँजा) सम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




