सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु प्र ०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र २–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका १ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घाइते महतोलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले जानकारी दिए ।
दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुल्सीपुर नगरपालिका ९ निवासी करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




