महोत्तरी । महोत्तरीको रामगोपालपुर क्षेत्रबाट प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब साढे ११ बजे रामगोपालपुर नगरपालिका ८ अन्तर्गत हरिणमरिण–सहसौला कच्ची सडक खण्डमा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
प्रहरीका अनुसार महोत्तरीको पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शङ्कास्पद अवस्थामा बाटोमा रोकिएको अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरीले कारको खोज तलास गरेको थियो ।
बर्दिबासस्थित लागूऔषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त गस्ती टोलीले कार जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले जानकारी दिए ।
बरामद गरिएको गाँजा र कार प्रहरीले नियन्त्रणमा लिएको छ । तर कार चालक भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल बर्दिबास बजारदेखि करिब ३० किलोमिटर दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।






