सप्तरी । जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सप्तरीको कञ्चनरूप नगरपालिका १२ धरमपुरकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीया खड्गमति राई रहेकी छन् ।
गत फागुन २० गते हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएकी राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको उनका छोरा चन्द्रकुमार राईले जानकारी दिए ।
उनका अनुसार राईको खुट्टा र हिपमा गम्भीर चोट लागेको थियो । उपचारका क्रममा मृत्यु भएपछि शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको छ ।
स्थानीयका अनुसार राई बाख्रा चराउन गएर घर फर्कने क्रममा दिउँसो करिब ३ बजेतिर घर नजिकै पुगेको बेला हात्तीको आक्रमणमा परेकी थिइन् । गाउँमा पसेको हात्तीको बथानमध्ये एक हात्तीले उपद्रो मच्चाइरहेको बेला उनी आक्रमणमा परेर गम्भीर घाइते भएकी थिइन् ।
यसअघि पनि सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का ८१ वर्षीय कर्णबहादुर भुजेल जंगली हात्तीको आक्रमणमा परेर घाइते भएका थिए । फागुन ९ गते बिहान घर नजिकै हात्तीले आक्रमण गर्दा घाइते भएका भुजेलको हाल उपचार भइरहेको स्थानीयले बताएका छन् ।
सप्तरीको उत्तरी क्षेत्रमा पर्ने बस्तीहरूमा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आउने जंगली हात्तीले वर्षेनी जनधनको क्षति पुर्याउँदै आएको स्थानीयको गुनासो छ ।




