बारा । प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका बारा जिल्ला सभापति राजेश राय यादवले पार्टीका बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको आरोपमा उनीसहित ९ जनामाथि कारबाही सिफारिस गरिएको छ ।
कांग्रेस बारा ३ क्षेत्रीय सभापति प्रभातकुमार चौरासियाले जिल्ला सभापति यादवसहित ९ जनाविरुद्ध कारबाहीको सिफारिस गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा पत्र पठाएका हुन् ।
कारबाही सिफारिसमा जिल्ला सभापति राजेश राय यादवका साथै कांग्रेसका जिल्ला सदस्यहरू रवीन्द्र यादव, रविकिरण साह कलवार लगायत अन्य नेताहरूको नाम पनि समावेश गरिएको बताइएको छ ।
उनीहरूले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवार फरमुल्लाह मन्सुरलाई सहयोग नगरी पार्टीविपरीत गतिविधि गरेको आरोप लगाइएको छ ।
सोही आधारमा उनीहरूमाथि कारबाहीका लागि केन्द्रीय कार्यसमितिसमक्ष सिफारिस गरिएको क्षेत्रीय सभापति चौरासियाले जानकारी दिए । यस विषयमा अन्तिम निर्णय भने नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गर्नेछ ।




