धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ वन डिभिजन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई सोमबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले वरिष्ठ वन डिभिजन भट्टलाई समातिएको जानकारी दिए । उनका अनुसार अनुसार भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराध सम्बन्धी जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ गरेर वरिष्ठ वन डिभिजन भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।
मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
केही दिनअघि सञ्चार माध्यमलाई दिएको एक अन्तर्वार्तामा वरिष्ठ वन डिभिजन भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए ।






