सर्लाही । सर्लाहीमा अर्धनग्न बनाएर एक युवकमाथि कुटपिट गरिएको भिडिओ भाइरल भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कविलासी नगरपालिका १० स्थित चमेलीमाई मन्दिर पछाडिको फनपार्कमा सो घटना भएको हो ।
फागुन २३ गते भएको उक्त घटनामा एक युवकलाई अर्धनग्न बनाएर सामुहिक कुटपिट गरिएको देखिन्छ । सर्लाही प्रहरीका अनुसार सर्लाहीको चक्रघट्टा गाउँपालिका ९ बस्ने राजकुमार यादवका १९ वर्षीय छोरा प्रमितकुमार यादवलाई केही व्यक्तिले अर्धनग्न बनाएर कुटपिट गरेका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घटनापछि पीडित पक्षले फागुन २९ गते कुटपिट गर्ने रोहितकुमार यादव लगायतका व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट गरी अंगभंग गरेको आरोपमा जाहेरी दिएका थिए । सोही दिन प्रहरीले प्रतिवादीमध्ये रोहितलाई पक्राउ गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
पक्राउ परेका रोहितलाई फागुन २९ गतेदेखि लागू हुने गरी सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।




