सप्तरी । निर्माण सम्पन्न भएर उद्घाटन गरिएको करिब १० महिना बित्न लाग्दा पनि सप्तरीको राजविराज बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । बसपार्क सञ्चालनमा नआउँदा राजविराज बजार क्षेत्रमा सार्वजनिक सवारी साधनहरू जथाभावी सडक किनारमै पार्किङ गर्ने र त्यहीँबाट यात्रु ओसारपसार गर्ने क्रम बढेको छ ।
राजविराज नगरपालिका २ राजदेवीचौकस्थित नवनिर्मित बसपार्कको उद्घाटन गत वर्ष राजविराजका कार्यवाहक नगरप्रमुख इसरत परवीनले गरेकी थिइन् । तर उद्घाटनपछि पनि सञ्चालन प्रक्रिया अघि नबढ्दा बसपार्क हालसम्म प्रयोगविहीन अवस्थामा रहेको छ ।
बसपार्क सञ्चालनमा नआउँदा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको स्थानीयहरूको भनाइ छ । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष वैद्यनाथ झाले बसपार्क नचल्दा सवारी साधन जताततै पार्किङ हुने र ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताए ।
नेपाल सरकारको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीमार्फत करिब १५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बसपार्क आधुनिक सुविधासहित तयार गरिएको हो । राजदेवी मन्दिर नजिकै करिब १९ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको बसपार्कमा सोधपुछ कक्ष, टिकट काउन्टर, सर्भिस सेन्टर, बैंक शाखा, प्रतीक्षालय, शौचालय, रेस्टुरेन्ट, मिनीमार्केट, सभाहल तथा प्रहरी बिट लगायतका संरचना निर्माण गरिएको छ ।
बसपार्क सञ्चालनका लागि राजविराज नगरपालिकाले कार्यविधि बनाएर तीनपटक टेन्डर आह्वान गरेपनि कसैले आवेदन नदिँदा बसपार्क सञ्चालन हुन नसकेको कार्यवाहक नगरप्रमुख इसरत परवीनले बताइन् । उनका अनुसार केही यातायात व्यवसायीको असहयोगका कारण पनि बसपार्क सञ्चालनमा ढिलाइ भएको छ । नगरपालिकाले छिट्टै बसपार्क सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिइन् ।
राजविराज बसपार्क निर्माणको प्रयास भने दशकौँ पुरानो हो । पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले बसपार्कको शिलान्यास गरेका थिए । त्यसपछि २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः शिलान्यास गरेपनि निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
पछि २०७४ सालमा शहरी विकास मन्त्रालयका तत्कालीन सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालीन नगरप्रमुख शम्भु प्रसाद यादवले संयुक्त रूपमा शिलान्यास गरेपछि मात्र बसपार्क निर्माण कार्य सुरु भएको थियो ।
आधुनिक संरचनासहित निर्माण भएको बसपार्क सञ्चालनमा नआउँदा स्थानीयवासी निराश बनेका छन् । व्यवस्थित रूपमा बसपार्क सञ्चालन भएमा ट्राफिक व्यवस्थापन सहज हुने, यात्रुहरूलाई सुविधा पुग्ने र राजविराजको शहरी व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।




