रौतहट । सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पुर्याएको छ । घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन् ।
विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ । सोमबार बेलुका चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो ।
हावाहुरी निकै तीव्र भएपनि वर्षा नहुँदा मकैका बोटहरू भाँचिने र उखेलिने क्रम बढी भएको हो । मकैबाहेक आँप र लिचीमा लागेका बतिला (मजुर) समेत हुरीले झारिदिएपछि फलफूल खेती गर्ने किसानलाई पनि उत्तिकै मार परेको छ । यस्तै किसानले लगाएको केरा खेतीमा पनि हावाहुरीले उतिकै क्षति गरेको छ ।
हुरीको प्रभाव कृषिमा मात्र सीमित रहेन । जिल्लाका विभिन्न स्थानमा कच्ची घरका छानो, खपडा, टाली र जस्ता पाताहरू समेत उडाएको स्थानीयले बताएका छन् । यसले सर्वसाधारणको जनजीवन समेत प्रभावित बनाएको छ ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहका कृषि शाखालाई दिइएको छ । मकै खेतीलाई मुख्य आयस्रोत मान्ने रौतहटका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर बिलौना गरिरहेका छन् । लागत समेत नउठ्ने अवस्था आएपछि उनीहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग गरेका छन् ।




