पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा हालै परेको बेमौसमी वर्षा र हावाहुरीका कारण किसानहरूले लगाएको गहुँबालीमा व्यापक क्षति पुगेको छ । सोमबार परेको वर्षाले जिल्लाका विभिन्न स्थानमा गहुँबाली जमिनमै ढलेको स्थानीय किसानहरूले बताएका छन् ।
किसानहरूका अनुसार कतिपयले लगाएको दुई विघासम्म गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ । प्रभावित क्षेत्रका अधिकांश किसानको गहुँबाली जमिनमा लडेकाले उत्पादनमा ठूलो गिरावट आउने चिन्ता बढेको छ ।
कात्तिकको दोस्रो सातापछि लगाइएको गहुँ अब एक महिनापछि भित्र्याउने तयारीमा रहेका बेला यस्तो प्राकृतिक विपत्तिले किसानलाई थप मारमा पारेको छ । वर्षाले तरकारी, मकै, उखु, आँप, लिचीजस्ता बालीलाई केही फाइदा पुर्याए पनि गहुँबालीमा भने गम्भीर असर पारेको किसानहरूको भनाइ छ ।
स्थानीय किसानहरूले वर्षापछि सम्बन्धित निकायका कृषि प्राविधिक वा कर्मचारी अनुगमनका लागि खेतबारीमा नआएको गुनासो गरेका छन् । जमिनमा ढलेको गहुँमा दाना नलाग्ने भएकाले आफूहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनीहरूको भनाइ छ ।
साथै, सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि किसानहरूले गरेका छन् । तर सम्बन्धित स्थानीय तहका कृषि शाखाका अधिकारीहरूका अनुसार हालसम्म गहुँबालीमा क्षति भएको विषयमा कुनै औपचारिक वा अनौपचारिक गुनासो प्राप्त नभएको बताएका छन् ।
गुनासो आएपछि मात्रै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइने उनीहरूको भनाइ छ । यद्यपि किसानहरूले भने अहिलेसम्म कुनै पनि सरकारी प्रतिनिधि क्षतिको स्थलगत अध्ययनका लागि नआएको बताएका छन् ।
जिल्लामा यस आर्थिक वर्षमा करिब १० हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ । पछिल्लो वर्षा र हावाहुरीका कारण धेरै ठाउँमा गहुँबाली ढलेकाले यस वर्ष उत्पादनमा कमी आउने कृषि क्षेत्रका जानकारहरूले बताएका छन् ।
कृषि ज्ञान केन्द्रले भने हालसम्म क्षति बारे कुनै निवेदन नआएको जनाएको छ । निवेदन प्राप्त भएमा स्थलगत अध्ययन गरेर आवश्यक कदम चालिने सम्बन्धित निकायले जनाएको छ ।






