रौतहट । रौतहट-बारा सीमासँग जोडिएको भारतीय क्षेत्रबाट नेपालतर्फ तस्करी गरी ल्याउन लागिएको ठूलो परिमाणको काँचो केरा सुरक्षा निकायले बरामद गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सोमबार राति विशेष अपरेशन सञ्चालन गरी १८६० कार्टुन काँचो केरा बरामद गर्दै तस्करीको प्रयास विफल पारेको जनाएको छ ।
सूचनाका आधारमा सीमा स्तम्भ नजिकको पिठवा गाउँ क्षेत्रमा संयुक्त सुरक्षा टोलीले निगरानी बढाएको थियो । सो क्रममा केही व्यक्तिहरूले टाउकोमा कार्टुन बोकेर तथा मोटरसाइकलमार्फत भारतबाट नेपालतर्फ सामान ओसार्दै गरेको देखिएपछि टोलीले उनीहरूलाई रोक्न खोजेको थियो । तर, सुरक्षाकर्मी देखेपछि ती व्यक्तिहरूले सामान छाडेर फरार भएका थिए ।
त्यसपछि गरिएको खोज तलासमा विभिन्न स्थानबाट काँचो केराले भरिएका कार्टुन फेला परेका थिए । प्रारम्भिक खोजीमा केही कार्टुन बरामद गरिएपछि थप अनुसन्धान गर्दै जाँदा पिठवा गाउँस्थित आँपको बगैंचाबाट ठूलो परिमाणमा कार्टुन फेला परेको थियो । यस्तै, सोही क्षेत्रको बन्सवाडीमा त्रिपालले छोपेर लुकाइराखिएको अवस्थामा पनि कार्टुनहरू भेटिएका थिए ।
सुरक्षा स्रोतका अनुसार आँपको बगैंचाबाट ७०७ कार्टुन र बन्सवाडी क्षेत्रबाट १११० कार्टुन गरी कुल १८६० कार्टुन काँचो केरा बरामद गरिएको हो । प्रत्येक कार्टुनको तौल करिब १३.५ किलोग्राम रहेको बताइएको छ ।
बरामद गरिएको सामानको स्वामित्व बारे स्थानीयस्तरमा खोजी गर्दा कसैले पनि दाबी नगरेको जनाइएको छ । छिट्टै नासिने प्रकृतिको खाद्यवस्तु भएकाले यस विषयमा सम्बन्धित उच्च अधिकारीहरूलाई जानकारी गराइएको छ भने आवश्यक कानुनी प्रक्रिया अघि बढाउन नजिकको प्रहरी चौकीलाई जिम्मा दिइएको छ ।
सुरक्षा निकायका अनुसार उक्त काँचो केरा नेपाल भित्र्याई राजधानी लगायतका सहरमा पठाउने उद्देश्यसहित सीमावर्ती क्षेत्रमा भण्डारण गरिएको थियो । समयमै गरिएको अपरेशनका कारण ठूलो मात्रामा भइरहेको तस्करी प्रयास असफल बनेको र संलग्न समूहलाई आर्थिक रूपमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।




