पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई फागुनमा पक्राउ गरेको छ । फैसला कार्यान्वयन अभियान अन्तर्गत एक महिनामा ती प्रतिवादी समातिएका हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले विभिन्न मुद्दामा अदालतबाट तोकिएको कुल १२ वर्ष ३ महिना कैद भुक्तान गर्न बाँकी छ । साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ ।
प्रहरीले पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद तथा जरिवाना असुलीका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिरहेको बताए ।




