पश्चिम नवलपरासी । प्रतापपुर गाउँपालिकाको २० औँ गाउँ सभा (हिउँदे अधिवेशन) बिहिबारदेखि सुरु भएको छ । ‘हामी सबैको सार्थक प्रयास, प्रतापपुरको समग्र विकास’ भन्ने मूल संकल्पका साथ गाउँपालिका कार्यालयमा आयोजित समारोहमा अध्यक्ष उमेशचन्द यादवले दीप प्रज्वलन गरी अधिवेशनको समुद्घाटन गरेका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले केही समय अगाडि नै हुनुपर्ने सभा ढिलो हुनुको विशेष कारण खुलाए । उनले आफ्नी ममतामयी आमाको निधनका कारण परेको पारिवारिक शोक र त्यस लगत्तै प्रतिनिधि सभाको निर्वाचनका कारण लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु परेकाले अधिवेशन केही ढिलो हुन गएको जानकारी दिए ।
सभामा गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक मान कुमारी चौधरीले न्याय पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले स्थानीय स्तरका विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गरी नागरिकलाई सहज न्यायको अनुभूति गराउन समिति सक्रिय रहेको बताइन् ।
अध्यक्ष उमेशचन्द यादवले गाउँपालिकाको विकास र सुशासनमा पत्रकार तथा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै रचनात्मक सहयोगका लागि आग्रह गरे । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






