सल्यान । बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चैत ६ गते राति करिब १० बजे सल्यानको कुमाख गाउँपालिकाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्सलाई सुर्खेत भेरीगंगा नगरपालिका ११ सादिखोलास्थित सडक खण्डमा केही युवाको समूहले अवरोध गरी आक्रमण गरेको थियो ।
मादक पदार्थ सेवन गरेका ५–६ जनाको समूहले एम्बुलेन्स रोकेर चालक ३२ वर्षीय वसन्त शर्मामाथि हातपातको प्रयास गर्नुका साथै गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
चालकका अनुसार समूहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेपछि आक्रमण सुरु भएको थियो । ज्यान जोगाउन चालक भाग्न सफल भएपनि समूहले एम्बुलेन्सको पछाडिको सिसा फुटाएर क्षति गरेको थियो ।
घटनापछि चालकले इलाका प्रहरी कार्यालय छिन्चुमा जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अवस्थामा संलग्न व्यक्तिहरू फरार रहे पनि भोलिपल्ट गरिएको अनुसन्धानका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीले पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका ११ का २० वर्षीय प्रविण गहतराज, १८ वर्षीय विशाल बि.क. र १९ वर्षीय विशाल बि.क. रहेको बताए ।
उनका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स तोडफोड भएपनि चालकले बिरामीलाई सुरक्षित नेपालगञ्ज अस्पताल पुर्याएको बताइएको छ ।






