महोत्तरी । शुक्रबार रातभर परेको हावाहुरीसहितको वर्षाका कारण महोत्तरीको बर्दिबासमा एक महिलाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका १ स्थित पूर्व-पश्चिम लोकमार्गको कल्भर्ट मुनि जमेको पानीमा शनिबार बिहान ती महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार अन्दाजी ४० वर्षीया ती महिलाको पहिचान अझै खुल्न सकेको छैन । लोकमार्गको कल्भर्ट मुनि वर्षाको पानी जमेको स्थानमा टाउकोसहित शरीरको दाहिने भाग डुबेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहाडे मूलकी जस्ती देखिने मृतक महिला केही समयदेखि बर्दीबास क्षेत्रमा मागी खाँदै हिँड्ने गरेको स्थानीयले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विकास बमका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाएको छ । उनले घटनाको थप विवरण र वास्तविकता बुझ्ने कार्य भइरहेको बताए ।




