महोत्तरी । बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगहरूमा ठूलो क्षति पुर्याएको छ । शुक्रबार साँझदेखि परेको लगातार वर्षाका कारण पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गलेर नष्ट हुँदा जिल्लाभरका उद्योगीहरूले करिब ६ करोड रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको बताएका छन् ।
महोत्तरी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा रोयल स्टार इँटा उद्योगका सञ्चालक सञ्जय चौधरीका अनुसार सुकाएर राखिएका काँचो इँटा पानीले बिग्रिएपछि अधिकांश उद्योग आर्थिक संकटमा परेका छन् ।
सामान्यतया माघ, फागुन र चैत महिना इँटा उत्पादनका लागि उपयुक्त मानिन्छ । यस अवधिमा वर्षा नहुने अपेक्षासहित उद्योगीहरूले ठूलो मात्रामा उत्पादन गर्ने गर्छन् । तर यस पटकको असामयिक वर्षाले लगानी नै जोखिममा परेको व्यवसायीहरूको गुनासो छ ।
औरही नगरपालिका २ स्थित न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवले आफ्नो उद्योगमा करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । त्यस्तै औरही ७ मा रहेको न्यु मिथिला इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीका अनुसार उनको उद्योगमा मात्रै करिब २० लाख रुपैयाँ बराबरको इँटा नष्ट भएको छ ।
उद्योगीहरूका अनुसार खुला आकाशमुनि बनाइने काँचो इँटाको बिमा नहुने हुँदा यस्तो प्राकृतिक विपत्तिबाट हुने क्षतिमा थप मार पर्ने गरेको छ । भट्टामा प्रयोग हुने मेसिन उपकरणको मात्रै बिमा हुने भएकाले काँचो इँटाको क्षतिपूर्ति नपाउँदा व्यवसायीहरू चिन्तित छन् ।
महोत्तरीका औरही, रामगोपालपुर, गौशाला, सम्सी र बलवा क्षेत्र इँटा उद्योगका मुख्य केन्द्र मानिन्छन् । उत्पादनको मुख्य सिजनमै वर्षाले क्षति पुर्याएपछि यस वर्ष इँटाको उत्पादन घट्ने र बजारमा मूल्य वृद्धि हुन सक्ने व्यवसायीहरूको अनुमान छ ।
यसैबीच भारतका सीतामढी, दरभंगा तथा उत्तर प्रदेशबाट ल्याइएका श्रमिकलाई प्रतिइँटा १ रुपैयाँ ५० पैसाका दरले ज्याला दिनुपर्ने भएकाले उत्पादन लागत पनि बढ्ने देखिएको छ । उद्योगीहरूले संघीय तथा प्रदेश सरकारसँग राहत तथा क्षतिपूर्तिको माग गर्दै समस्या समाधानतर्फ ध्यान दिन आग्रह गरेका छन् ।




