वीरगन्ज । वीरगन्जको एक होटलमा एक पुरुष र एक महिलाको शव फेला परेको छ । प्रहरीले उनीहरू भारतीय नागरिक र नातामा दम्पती भएको आशंका गरेपनि शवको सनाखत हुन सकेको छैन ।
वीरगन्ज महानगरपालिकाको भानुचोकमा रहेको नवदुर्गा लजमा झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरू तीन दिनदेखि त्यहाँ बस्दै आएका होटल सञ्चालकले बताएका छन् । आइतबार बिहान अबेलासम्म नउठेपछि खोजी गर्दा उनीहरू झुन्डिएको अवस्थामा फेला परेका प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पुरुष करिब ४० वर्षीय र महिला ३५ वर्षीया छन् । उनीहरूको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




