रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको सुविधा सम्पन्न बसपार्क अझै सञ्चालनमा नआउँदा बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ । एक वर्षअघि उद्घाटन गरिएको बसपार्क नगरपालिकाको ढिलासुस्तीका कारण प्रयोगविहीन रहँदा सवारी सडकमै थुप्रिन गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना, पर्सा ९वीरगन्ज० ले २०८१ फागुन १५ गते बसपार्क निर्माण पूरा गरी चन्द्रपुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको थियो । तर, हालसम्म सञ्चालनमा नआउँदा चन्द्रनिगाहपुर चोकदेखि गौर–चन्द्रनिगाहपुर सडक खण्डसम्म बस, ट्रक, जीप तथा ई–रिक्शाहरू सडकमै पार्किङ हुने गरेको छ । यसले पूर्व–पश्चिम महेन्द्र राजमार्गको उक्त व्यस्त खण्डमा दुर्घटनाको जोखिम बढाएको स्थानीयको गुनासो छ ।
स्थानीय बासिन्दाका अनुसार बसपार्क निर्माणपछि व्यवस्थापन सहज हुने अपेक्षा गरिएको थियो । तर, सञ्चालन नहुँदा बजार क्षेत्र झन् अस्तव्यस्त बनेको छ । “बसपार्क बने पनि प्रयोगमा नआउँदा सवारी जथाभावी रोकिँदा दैनिक आवतजावत नै जोखिमपूर्ण बनेको छ,” एक स्थानीयले गुनासो गरे ।
नगरपालिकाले भने बस व्यवसायीहरूको असहयोगका कारण ढिलाइ भएको दाबी गर्दै आएको छ । व्यवसायीहरूले सुरक्षा लगायत विभिन्न कारण देखाउँदै बसपार्क प्रयोगमा अनिच्छा देखाएको नगरपालिकाको भनाइ छ । तर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सुरक्षा चुनौती नरहेको स्पष्ट पारेको छ ।
यसैबीच, नगरपालिकाले पछिल्लो समय बसपार्क सञ्चालनका लागि कार्यदल गठन गरेर प्रक्रिया अगाडि बढाएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद श्रीवास्तवका अनुसार बसपार्कमा विद्युत् जडानको काम सम्पन्न भइसकेको छ भने आवश्यक ट्रान्सफर्मर जडानका लागि मधेश प्रदेश सरकारसँग समन्वय भइरहेको छ ।
नगर प्रमुख सञ्जयकुमार काफ्लेले वैशाखभित्र बसपार्क सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जानकारी दिए । “बसपार्क सञ्चालनमा आएपछि राजमार्गमा भइरहेको अव्यवस्थित पार्किङको समस्या समाधान हुनेछ,” उनले भने ।
चार्जिङ स्टेसनसहित निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा नआउँदा सरकारी लगानीको प्रभावकारितामाथि पनि प्रश्न उठ्न थालेको छ । स्थानीय सरोकारवालाहरू समयमै सञ्चालन गरी सवारी व्यवस्थापन सुधार्न र दुर्घटनाको जोखिम घटाउन नगरपालिकाले ठोस कदम चाल्नुपर्नेमा जोड दिन्छन् ।




