काठमाडौं । बझाङको वित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा कामै नगरी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिने र लिने कार्य गरी भ्रष्टाचार गरेको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ स्थित बागथला धारी डोवा सडक निर्माण योजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आरोपपत्र दायर गरेको हो ।
अख्तियारको अनुसन्धानका क्रममा ‘बागथला धारी डोवा सडक निर्माणमा सम्झौता बमोजिम काम सम्पन्न नहुँदै झुटो नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारेको भेटिएको छ । नापी किताबमा ३३८ मिटर लम्बाइको सिँचाइ क्यानल निर्माण भएको उल्लेख गरिए पनि स्थलगत निरीक्षणमा जम्मा २४८ मिटर मात्र पाइएको छ ।
त्यसैगरी, ह्युम पाइप कल्भर्ट र अन्य मेसनरी संरचनाहरू फिल्डमा कतै नभए पनि निर्माण भएको भनी झुटा बिल भरपाई खडा गरी आठ लाख ४८ हजार रुपैयाँ बढी भुक्तानी लिएको/दिएको आयोगको निष्कर्ष छ । यस प्रकरणमा आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट र लेखापाल रामचन्द्र धामीलाई प्रतिवादी बनाएको छ ।
उनीहरूले आपसी मिलेमतो र संलग्नतामा फिल्डको यथार्थ विवरण लुकाई निर्माण व्यवसायीलाई गैरकानुनी लाभ पुर्याएको आरोप लगाइएको छ । साथै, कार्यस्थलमा हुँदै नभएको कामलाई समेत भएको भनी गलत प्रतिवेदन र नापी किताब तयार पार्ने प्राविधिक कर्मचारीहरू इन्जिनियर सन्देश भण्डारी र सब-इन्जिनियर किरण भण्डारीलाई पनि भ्रष्टाचार निवारण ऐन बमोजिम प्रतिवादी कायम गरिएको छ ।
आयोगले निर्माण व्यवसायी तथा भूमिराज कन्स्ट्रक्सनका प्रोप्राइटर मानबहादुर बोहरालाई समेत सरकारी रकम हिनामिना गरी लाभ लिएको अभियोगमा प्रतिवादी बनाएको छ । सबै प्रतिवादीहरूबाट जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ २२ पैसा बिगो असुल उपर गर्न मागदाबी गरिएको छ ।
कर्मचारीहरूको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरिएको छ । प्राविधिक कर्मचारीहरूलाई भने सोही ऐनको दफा १९ (२) बमोजिम गलत प्रतिवेदन तयार पारेकोमा थप सजायको मागदाबी समेत लिइएको छ ।
निर्माण व्यवसायी बोहराको हकमा ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय र बिगो असुलको माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






