वीरगंज । वीरगंज–पथलैया सडकखण्डमा सञ्चालनमा रहेको इभी गाडीको ठक्करबाट एक छात्रा घाइते भएकी छन् । प्रहरीका अनुसार, बिहिबार बिहान करिब १०:१५ बजे वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको इभी गाडीले परवानीपुर गाउँपालिका ५ स्थित हेरिटेज स्कुलकी छात्रालाई ठक्कर दिएको हो ।
ठक्करबाट परवानीपुर गाउँपालिका ३ लिपनीमाल निवासी १५ वर्षीया पार्वतीकुमारी राम घाइते भएकी हुन् । उनी हेरिटेज स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । प्रहरीले जनाए अनुसार, उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
घाइते रामलाई उपचारका लागि वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्न इभी गाडीका चालक कोल्हवी नगरपालिका २ निवासी २२ वर्षीय विनोद खरेललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।






