जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडाका जनप्रतिनिधि तथा कर्मचारीले बजेट दुरुपयोग गरी धार्मिक तथा पर्यटकीय भ्रमणमा आफन्तहरूलाई सहभागी गराएको आरोप लगाउँदै आइतबार कार्यालयमा तालाबन्दी गरिएको हो ।
स्थानीय गणेश महतोका अनुसार जनप्रतिनिधि र कर्मचारीले सार्वजनिक सेवा प्रवाहलाई बेवास्ता गर्दै वडाको बजेट व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप छ । “जनताको काम छाडेर आफ्ना श्रीमती र आफन्तलाई घुमाउन बजेट खर्च गरिएको देखिन्छ,” उनले भने ।
तालाबन्दीका कारण वडा कार्यालयबाट प्रदान गरिने नियमित सेवा पूर्ण रूपमा प्रभावित भएको छ । स्थानीयले बजेट खर्चको पारदर्शिता सुनिश्चित गर्न तथा भ्रमणमा सहभागीहरूको विवरण सार्वजनिक गर्न माग गरेका छन् । उनीहरूले स्पष्ट जवाफ र निष्पक्ष छानबिन नभएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन् ।
यसअघि वडा कार्यालयले चैत १० गते सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय भ्रमणमा जाने भएकाले पाँच दिनका लागि कार्यालय बन्द रहने जानकारी दिएको थियो । यता, भ्रमणमा रहेका वडाध्यक्ष रामचन्द्र मण्डलले भने वडाका सबै नागरिक आफ्ना आफन्त सरह भएको उल्लेख गर्दै सबै राजनीतिक दलको सहमतिमा उक्त भ्रमण आयोजना गरिएको दाबी गरेका छन् ।




