सप्तरी । शुक्रबार राति परेको वर्षा र हावाहुरीका कारण सप्तरीमा गहुँबालीमा क्षति पुगेको छ । बाली भित्र्याउने महत्वपूर्ण समयमा मौसम प्रतिकूल बनेपछि किसानहरू चिन्तित भएका छन् ।
पछिल्लो एक साताभित्र दुई पटक आएको हावाहुरी र वर्षाले पाक्नै लागेको गहुँबालीमा नोक्सानी पुर्याएको हो । जिल्लामा धानपछि दोस्रो प्रमुख बालीका रूपमा रहेको गहुँ यस पटक राम्रो उत्पादन हुने अपेक्षा गरिए पनि मौसमको असरले किसान निराश भएका छन् ।
विष्णुपुर गाउँपालिका १ का किसान इन्द्रदेव ठाकुरका अनुसार कात्तिकमा भएको वर्षाका कारण ढिलो गरी बिउ छरिएकाले गहुँबाली चैत अन्त्यतिर मात्र भित्र्याउने अवस्था आएको थियो ।
“ठीक भित्र्याउने बेला पानी परेपछि बाली खेतमै बिग्रियो, अब अपेक्षा गरेजस्तो उत्पादन हुँदैन,” उनले भने । उनका अनुसार लागत खर्च उठाउन समेत चुनौती हुन सक्ने देखिएको छ ।
यस्तै, रूपनी गाउँपालिका ४ का किसान धनिचन्द मण्डलले पनि हावाहुरी र वर्षाले गहुँबालीमा थप क्षति पुर्याउने चिन्ता व्यक्त गरे । “गहुँ पाक्ने बेला पानी परेपछि दाना राम्रोसँग भरिँदैन, जसले उत्पादन र तौल दुवै घटाउँछ,” उनले बताए ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार यस वर्ष जिल्लामा करिब ३५ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ । उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि असामयिक वर्षा र हावाहुरीका कारण किसानहरू प्रभावित भएका छन् ।




