पश्चिम नवलपरासी । इलाका प्रहरी कार्यालय बेलाटारीको आयोजनामा प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित वडा कार्यालयमा नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । शान्ति सुरक्षा सुदृढीकरण, प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि तथा नागरिक–प्रहरी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलाटारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक शिव क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष केशव प्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो । साथै, सशस्त्र प्रहरी बल गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक बद्री देवकोटाको पनि सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्यहरू, स्थानीय बासिन्दा, सञ्चारकर्मी, व्यापारी तथा विभिन्न सरकारी एवम् गैरसरकारी निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा सहभागी स्थानीयहरूले गाउँघरको सुरक्षा अवस्था, लागुऔषध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा प्रहरीको भूमिकाबारे आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए ।
सो क्रममा प्रहरी निरीक्षक शिव क्षेत्रीले नागरिकबाट प्राप्त सुझावहरूलाई आत्मसात गर्दै प्रहरी सेवालाई अझ पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
वडा अध्यक्ष केशव प्रसाद अधिकारीले समाजमा शान्ति सुरक्षा कायम राख्न नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनस्तरमा प्रहरीप्रतिको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे ।






