रौतहट । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालय रौतहटबाट फरार भएका दुई जना कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका ३ रौतहटका २४ वर्षीय अफताब अन्सारी र दुर्गाभगवती गाउँपालिका ५ वडहर्वा, रौतहटका २९ वर्षीय दिपेश साह सोनार छन् ।
अन्सारीलाई रौतहट प्रहरीले र सोनारलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा गौर ३ पोखरिया टोलबाट चोरी मुद्दाका दोषी अन्सारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए । अन्सारीलाई नियन्त्रणमा लिई कारागार कार्यालय पठाइएको उनले बताए ।
त्यस्तै, जबरजस्ती करणी मुद्दाका दोषी सोनारलाई इलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले ईश्वरपुर नगरपालिका ६ बयलबासबाट सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
सोनारलाई जिल्ला कारागार कार्यालय सर्लाहीको जिम्मा लगाइने उनले बताए । कारागार कार्यालय रौतहटबाट अझै १२२ जना कैदीबन्दी फरार रहेको कारागार कार्यालय रौतहटका प्रमुख प्रदीप पौडेलले जानकारी दिए ।




