पश्चिम नवलपरासी । पश्चिम नवलपरासीका ऐतिहासिक तथा बुद्धकालीन स्थलहरूको एकीकृत विकासका लागि पर्यटन मन्त्री खड्ग राज पौडेल र सांसद नरेन्द्र कुमार गुप्ता बीच मन्त्रालयमा छलफल भएको छ ।
भेटमा सांसद गुप्ताले रामग्राम स्तूप, पण्डितपुर, अनोमा घाट र देवदह ताल (तरङ्गौली) जस्ता पुरातात्विक क्षेत्रलाई समेटेर ‘कोलिय गणराज्य संरक्षण विकास समिति’ गठन गर्न र छुट्टै गुरुयोजना निर्माण गर्न माग गरेका छन् ।
यस सम्बन्धमा मन्त्री पौडेलले यी स्थलहरूको अन्तर्राष्ट्रिय महत्व स्वीकार गर्दै आगामी बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । मन्त्रीको भनाइ अनुसार, यी क्षेत्रहरूको व्यवस्थित उत्खनन, संरक्षण र पूर्वाधार निर्माण भएमा पश्चिम नवलपरासी लुम्बिनी क्षेत्रपछिको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।






