काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका चार अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राय कुर्मीसहित ८ जनालाई प्रतिवादी बनाएको हो । राजस्व चुहावट गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
यस्तै, तत्कालीन नायब सुब्बा स्वर्गीय किरानाप्रसाद उपाध्यायको हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसाद उपाध्यायलाई पनि प्रतिवादी बनाइएको छ । अभियोग पत्र अनुसार उनीहरूले एकै नम्बरका दोहोरो तथा तेहेरो रजिस्ट्रेसन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरेका थिए । साथै, त्यस्ता लिखतबाट प्राप्त राजस्व रकम लेखा शाखामा दाखिला नगरेको पनि खुलेको छ ।
आर्थिक वर्ष २०७०/०७१ मा मिलेमतोमा कम थैली अंक भएका लिखतको मात्र राजस्व बुझाई ठूलो रकम हिनामिना गरिएको अख्तियारको ठहर छ । यसबाट कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व चुहावट भएको उल्लेख गरिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम जफत गरी प्रतिवादीहरूलाई कैद तथा जरिवाना सजाय हुन मागदाबी गरेको छ ।






