काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चन्द्रगढी (झापा) का तत्कालीन प्रमुख नापी अधिकृत स्व. शशीकान्त झासहितका प्रतिवादीविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जिल्ला झापाको साविक दमक नगरपालिका क्षेत्रको स्ववासी जग्गा दर्ता प्रक्रियामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराएको आरोपमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको थियो। उक्त प्रकरणमा ४१ करोड ६२ लाख १९ हजार ८०१ रुपैयाँ ७५ पैसा बिगो कायम गरिएको छ ।
अख्तियारले उक्त कसुरमा कैद तथा बिगो बराबरको जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको थियो । प्रतिवादी शशीकान्त झाको २०७५ पुस ७ गते मृत्यु भइसकेको भए पनि कानुनी व्यवस्थाअनुसार बिगो असुली प्रयोजनका लागि उनकी श्रीमती अनार देवी झालाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
विशेष अदालत काठमाडौंले २०८२ वैशाख २८ गतेको फैसलाबाट आंशिक सफाइ दिएकोमा अख्तियारले उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै २०८२ चैत १८ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले यसबारे जानकारी दिएका हुन् ।






