बारा । बाराको निजगढ नगरपालिका ९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका ७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र २–०४२ प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र ३–००४प ३६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउना साथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटना बारे जानकारी दिँदै घटनाको थप अनुसन्धान भइरहेको बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।






